Showing posts with label new. Show all posts
Showing posts with label new. Show all posts

Wednesday, May 4, 2011

श्राद्धका विविध स्वरुप:-

सोह्र-श्राद्ध विशेष
श्राद्धका विविध स्वरुप:-


मँ आज पनि समय सान्दर्भिक प्रसँगलाई उठाउँदै छु जसलाई आज हाम्रो समाजमा अत्यन्त रूढिवादीको लान्छन लागेको छ । जीवन भरि सँगैराखेर, मीठो-मीठो खुवाएर सम्मान गर्ने वर्ग देखि लिएर आफ्ना माता-पितालाई हेलाको दृष्टिकोणले हेर्ने दुवै वर्गको एउटै जिज्ञासा रहने गर्छ | मरे पछि पिण्ड,तर्पण दिएर के हुन्छ ? भगवान श्रीकृष्ण स्वयँ आफूलाई पितृहरुमा अर्यम्णा नामक पितृ हूँ भन्नु हुन्छ | पितृ आषिर्वाद भन्दा ठूलो आषिर्वाद कुनै हुन सक्दैन भने पितृ श्राप भन्दा ठूलो श्राप पनि कुनै हुन सक्दैन | त्यसैले पितृ आशिर्वाद पाउनका लागि श्राद्ध अत्यन्त जरुरी छ |

श्राद्धले तृप्त हुन्छन् पितृगण
अश्विन कृष्णपक्षलाई पितृपक्ष मानिएको छ । धर्मशास्त्रका अनुसार जब कन्या राशिमा सूर्य पुग्छन् , त्यहा देखि 16 दिन पितृ तृप्तिका लागि तर्पण पिण्डदानादि गर्नु तृप्तिकारक मानिएको छ । पितृ तृप्ति भए भने मात्र घरमा पुत्र पौत्रादिको वंश वृद्धि एवं गृहस्थाश्रममा सुख शांति भई रहन्छ । श्राद्ध कर्मको आवश्यकताका सम्बंधमा शास्त्रहरुमा बहुधा प्रमाण पाईन्छन् । गीतामा पनि भगवान् " लुप्तपिण्डोदकक्रिया " भनेर त्यसको आवश्यकताका तर्फ संकेत गर्नु हुन्छ । क‌र्त्तव्याक‌र्त्तव्यका संबंधमा शास्त्र नै प्रमाण छन । त्यसैले पितृ, देव, एवं मनुष्यका लागि वेद शास्त्रलाई नै प्रमाण मानिएको छ , जंगलमा बसेर कन्दमूल,फल खाएर, मन वाणी एवं कर्मले सर्वथा सत्यलाई नै पालन गर्ने महर्षिगण लोकोपकारकालागि शास्त्रीय माध्यमले हमीलाई कल्याणकारि मार्ग प्रसस्त गर्नुहुन्छ ।
त्यसैले आज पनि आस्तिक जन श्रद्धापूर्वक शास्त्र प्रतिपादित धार्मिक कृत्यलाई अनुष्ठान मान्दछन् । जसरि चिकित्सक द्वारा प्रदत्त औषधीको सम्पूर्ण विवरण नजानिकन खादा पनि रोगी लाभान्वित हुन्छ , त्यसैगरि ऋषिमुनीहरु द्वारा प्रवर्तित अथवा वेद प्रतिपादित कल्याण मार्गका रहस्यलाई नजानि-नजानिकन आचरण गर्नाले पनि मनुष्यको कल्याण निश्चित हुन्छ । तथ्यको ज्ञान केवल ज्ञान -वृद्धिमा मात्र सहायक हुन्छ । जबसम्म अनुष्ठान गरिदैन तबसम्म कल्याण हुन सक्दैन , त्यसैले ज्ञान पक्ष भन्दा क्रिया पक्ष अत्यधिक गौरवान्वित मानिएको छ । शरीरका दुई भेद छन् । सूक्ष्म र स्थूल । पंचभौतिक शरीर मरेपछि नष्ट हुन्छ । सूक्ष्म शरीर आत्मासँग यसरि जान्छ जसरि पुष्पको सुगन्ध वायुसँग । जुन धर्मग्रन्थमा मरेपछाडिका गतिको वर्णन पाईन्छ , तीनिहरुमा स्थूल शरीरका अलावा सूक्ष्म शरीरको पनि अवस्थाको सँकेत मिल्छ । सूक्ष्म शरीरलाई प्रभावित गर्ने सूक्ष्म तत्व नै हुन्छ,जसलाई स्थूल मापदण्डले मापन गर्न सकिदैन ।

वेदमा " आत्मा वै जायतेपुत्र:" अर्थात पुत्रलाई आत्म-स्वरूप मानिएको छ । हुनत सजातीय धर्मको पनि एउटा आफ्नै महत्व हुन्छ । मनुष्य-मनुष्यमा , चुम्बक-चुम्बकमा , तार-तारआदिमा सजातीय धर्म सुदृढ रहन्छ । त्यहि सजातीय धर्मका आधारले नै पिताको ऋणलाई पुत्रले चुकाउनु पर्छ र पुत्रको ऋणलाई पिताले चुकाउनु पर्छ । जसरी रेडियो स्टेशनबाट विद्युत तरंग मार्फत ध्वनि प्रसारित गरेपछि समान धर्म भएका केंद्रबाट मात्र त्यसलाई सुन्न सकिन्छ ,त्यसरि नै यसलोकमा स्थित पुत्र रूपी मेशीनका पनि भावलाई श्राद्धमा यथा स्थान स्थापित गरिएका आसन आदिका क्रिया द्वारा शुद्ध र अनन्य बनाएर त्यस द्वारा श्राद्धमा दिइएका अन्नादिका सूक्ष्म परिणालाई स्थान्तरण गरेर पितृलोकमा पितृहरु समक्ष पठाइन्छ । सामान्य लोक व्यवहारमा पनि मनुष्य द्वारा प्रयुक्त अपशब्द अथवा असम्मान जनक शब्दले यदि हाम्रो मनलाई उद्विघ्न अथवा अप्रसन्न गर्न सक्छ भने , पवित्र वेदका मंत्रहरु द्वारा अभिमन्त्रित शुद्ध भावले समर्पित अन्नादिका सूक्ष्मांशले पितृहरुलाई तृप्ति किन गर्न सक्दैन ? अवश्य गर्न सक्छ । संस्कार मूलक सृष्टिमा सत्संस्कारजनक श्राद्ध आदि सत्सन्ततिदायक क्रियाहरुका अभावले आजको हाम्रो समाज दुराचारी राक्षस प्रवृत्तिदेखि पीडित छ । श्राद्ध सत्सन्तान लाभमा एउटा कडा चुनौति हो । पुण्यार्जनको घडी हो र सुख-शांतिको जड पनि हो । श्राद्ध धनले नै मात्र सम्पन्न हुन्छ भन्नु अनुचित हो । जो सँग आफूलाई खानकोलागि एउटा दानो अन्न पनि हुदैन उसले पनि पितृहरुलाई श्रद्धा भावले तर्पित गर्न सक्दछ । शास्त्रमा विधान बताइएको छ , घरमा केहि नभएता पनि आफ्ना पितृहरुको तिथिका दिन एकान्तमा दुवै हात माथी उठाएर भक्ति भावले अश्रुपात गर्दै पितृहरुसँग विन्ति गर्दै तृप्त हुनका लागि भगवान सँग प्रार्थना गर्नु पर्छ । यसैबाट श्राद्धको महत्व जीवनमा कति छ भन्ने कुराको अनुमान लगाउन सकिन्छ ! पितृगणपनि श्राद्धले तृप्त भएर आफ्ना संतानलाई सबै प्रकारका सुख समृद्धिले तृप्त गरि दिन्छन् ।

मनुष्य कुनै न कुनै धर्मका प्रति आस्थावान भए बिना रहन सक्दैन , जुन सुकै धर्ममान्ने व्यक्ति किन न होस् उसको आफ्नै पहिचान हुन्छ | सनातन धर्मले सबैलाई आफ्नो इच्छनुसारको इष्ट मान्ने अधिकार दिन्छ त्यो इष्ट भगवान,देवि, देवता,गड ,बुद्ध , इसा मसिह , अल्लाह ,आदि जुनसुकै नामको हुन सक्छ ,त्यहि आफ्नो इष्टलाई रिझाउने तरिकालाई नै हामी बिभिन्न धर्मको नाम दिन्छौ | सँसारको सबैभन्दा प्राचिन धर्म भनेको नै हामीले मान्ने हिन्दु धर्म हो | यसको आफ्नै खाले अस्तित्व र पहिचान छ | यसका अनुयायीहरु सँसारभरिनै छरिएर रहेका छन् | हिन्दु धर्मका आराध्यहरु मुख्य गरेर तीन प्रकारका छन् | देवता,ऋषि र पितृ | पूजा,पाठ र यज्ञको माध्यमबाट देवतालाई रिझाईन्छ | तर्पण , स्वाध्याय , वेदाध्ययन आदिको माध्यमबाट ऋषिलाई रिझाईन्छ भने - श्राद्ध, पिण्डदान, तर्पण ब्राह्मण भोजन आदिको माध्यमबाट पितृलाई रिझाईन्छ | हिन्दु परम्परा अनुसार आश्विन कृष्ण प्रतिप्रदादेखि औंसीसम्म कायम रहने पितृपक्षमा आफ्ना दिवंगत पितृको तिथिमा श्राद्ध, पिण्डदान तथा तर्पणादि कार्य गरिने हुनाले हाम्रो हिन्दु समाजमा सोह्र श्राद्धको विशेष महत्व छ। चाडपर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको पुजा गर्ने हिन्दु परम्परा अनुसार बडा दशै र तिहार जस्ता महान चाड भन्दा पहिले पर्ने सोह्र श्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनाका साथै पितृ ऋणबाट मुक्त गराएर चित्त शुद्धि गराउँछ भन्ने मान्यता छ।

श्राद्धकिन ? 

जीवितो वाक्यकरणात् क्षयाहे भूरिभोजनात् |
गयायाँ पिण्डदानाच्च त्रिभि: पुत्रस्य पुत्रता || 

जीवित माता-पिताको सम्मान र सेवा , मृतकलाई श्राद्धका दिन स्मरण पूर्वक श्राद्ध, एवँ ब्राह्मण - गरिब - अनाथ साधुहरुलाई भोजन , गयाआदि तीर्थमा गएर पिण्ड दान गर्नु तीन प्रकारका पुत्रका लक्षण हुन्छन् | प्रत्येक वर्ष १६ दिन पितृका नामका हुन्छन् जसलाई पितृपक्षका नामले जानिन्छ | पितृपक्षमा शुभकार्य गरिदैन |
श्राद्धका विविध स्वरुप:-त्रिविधंश्राद्धमुच्यते - मत्स्य पुराणमा तीन प्रकारका श्राद्ध मानिएका छन् , जसलाई नित्य, नैमित्तिक एवं काम्यका नामले जानिन्छन् । यमस्मृतिमा पांच प्रकारका श्राद्धहरुको वर्णन पाईन्छ । जसलाई नित्य, नैमित्तिक काम्य, वृद्धि र पार्वणको नामले जानिन्छ ।
नित्य श्राद्ध :- नित्यको अर्थ प्रतिदिन । अर्थात् दिन-दिनै गरिने श्राद्धलाई नित्यश्राद्ध भनिन्छ । यस श्राद्धमा विश्वेदेवलाई स्थापित गरिदैन । अत्यन्त आवश्यकता एवं असमर्थावस्थामा केवल जलले मात्र पनि यो श्राद्धलाई सम्पन्न गर्न सकिन्छ ।
नैमित्तिक श्राद्ध :- कसैलाई निमित्त बनाएर जुन श्राद्धगरिन्छ , त्यसलाई नैमित्तिक श्राद्ध भनिन्छ । यसलाई एकोद्दिष्टको नामले पनि जान्न सकिन्छ । एकोद्दिष्टको मतलब कुनै एकलाई निमित्त मानेर गरिने श्राद्ध जस्तै कसैको मृत्यु भएमा दशाह, एकादशाह आदि एकोद्दिष्ट श्राद्धका अन्तर्गत आउँछन् । यसमा पनि विश्वेदेवहरुलाई स्थापित गरिदैन ।
काम्य श्राद्ध :- कुनै कामनाको पूर्तिका निमित्त जुन श्राद्ध गरिन्छ । त्यो काम्य श्राद्ध अन्तर्गत आउछ ।
वृद्धि श्राद्ध :- कुनै प्रकारको वृद्धिमा , जस्तै पुत्र जन्म, विवाहादिमांगलिक कार्यमा जुन श्राद्ध हुन्छ । त्यसलाई वृद्धि श्राद्ध भनिन्छ । यसलाई नान्दीश्राद्ध अथवा नान्दीमुखश्राद्धको नामले पनि जान्न सकिन्छ ।
पार्वण श्राद्ध :-- पार्वण श्राद्ध पर्व सँग सम्बन्धित हुन्छ । कुनै पर्व जस्तै पितृपक्ष, अमावास्या अथवा पर्वको तिथि आदिमा गरिने श्राद्ध पार्वण श्राद्ध मानिन्छ । यो श्राद्ध विश्वेदेवसहित हुन्छ । विश्वामित्रस्मृति तथा भविष्यपुराणमा बाह्र प्रकारका श्राद्धहरुको वर्णन पाइन्छ जसलाई नित्य, नैमित्तिक, काम्य, वृद्धि, पार्वण, सपिण्डन,गोष्ठी, शुद्धयर्थ,कर्माँग,दैविक, यात्रार्थ तथा पुष्ट्यर्थका नामले जान्न सकिन्छ । यदि ध्यान पूर्वक हेर्ने हो भने यी बाह्रै प्रकारका श्राद्धको स्वरूप माथी उल्लेख गरिएका पांच प्रकारका श्राद्धहरुमा स्पष्ट रूपले झल्किन्छ ।
सपिण्डनश्राद्ध :- सपिण्डनशब्दको अभिप्राय पिण्डहरुलाई मिलाउनु । वास्तवमा शास्त्रानुसार जब जीवको मृत्यु हुन्छ , तब त्यो प्रेत हुन्छ । प्रेतबाट पितृमा लिएर जाने प्रक्रिया नै सपिण्डन हो । अर्थात् यस प्रक्रियामा प्रेत पिण्डलाई पितृ पिण्डमा सम्मेलन गराइन्छ । यसैलाई सपिण्डनश्राद्ध भन्दछन् ।
गोष्ठी श्राद् :- गोष्ठी शब्दको अर्थ समूह हुन्छ । जुन श्राद्ध सामूहिक रूपले अथवा समूहमा सम्पन्न गरिन्छ । त्यसलाई गोष्ठी श्राद्ध भनिन्छ ।
शुद्धयर्थश्राद्ध :- शुद्धिका निमित्त जुन श्राद्ध गरिन्छन् त्यसलाई शुद्धयर्थश्राद्ध भनिन्छ । जस्तै शुद्धिकालागि ब्राह्मण भोजन गराइन्छ ।
कर्मागश्राद्ध :- कर्माँगको सीधै अर्थ कर्मको अंग हुन्छ , अर्थात् कुनै प्रधान कर्मको अंगका रूपमा जुन श्राद्ध सम्पन्न गरिन्छ त्यसलाई कर्मागश्राद्ध भन्दछन् । जस्तै - सीमन्तोन्नयन, पुंसवन आदि संस्कारहरुको सम्पन्नताकालागि गरिने श्राद्ध यस श्राद्ध अन्तर्गत आउछन् ।
यात्रार्थश्राद्ध :- यात्राको उद्देश्यले गरिने श्राद्ध यात्रार्थश्राद्ध कहलाउँछ । जस्तै तीर्थमा जानुको उद्देश्यले या देशान्तरमा जाने उद्देश्यले जुन श्राद्धलाई सम्पन्न गराइन्छ त्यो
यात्रार्थश्राद्ध नै हो । यो घ्यूले सम्पन्न गरिन्छ । त्यसैले यसलाई घृतश्राद्धको पनि उपमा दिईएको छ ।
पुष्ट्यर्थश्राद्ध :- पुष्टिका निमित्त जुन श्राद्ध सम्पन्न हुन्छ , जस्तै -शारीरिक एवं आर्थिक उन्नतिका लागि गरिने श्राद्ध पुष्ट्यर्थश्राद्ध कहलाउँछ । वर्णित सबै प्रकारका श्राद्धहरुका दुई-दुई प्रकारका भेद हुन्छन् । श्रौत तथा स्मा‌र्त । पिण्डपितृयागलाई श्रौतश्राद्ध भन्दछन् तथा एकोद्दिष्ट पार्वण आदि मरण सम्मका श्राद्धलाई स्मा‌र्त्तश्राद्ध
भन्दछन् ।
श्राद्धैर्नवतिश्चषट्-धर्मसिन्धुका अनुसार श्राद्धका 96 अवसर भनिएका छन् ।

एक वर्षका अमावास्या {औसी} (12) पुणादितिथिहरु (4), मन्वादि तिथिहरु (14), संक्रान्तिहरु (12), वैधृति योग (12), ,व्यतिपात योग (12)पितृपक्ष (15), अष्टकाश्राद्ध(5), अन्वष्टका(5), तथा पूर्वेद्यु:(5) मिलाएर कुल 96 अवसर श्राद्धका छन् ।

आचार्य कुशल कुमार निरौला
विराटनगर -१६
हाल:- मस्को,रुस
niraula4@gmail.com

वास्तु शास्त्र



के हो वास्तु ?

वास्तु शास्त्र त्यो विज्ञान हो जसका माध्यमले ब्रह्मांडका विभिन्न ऊर्जा- जस्तै घर्षण, विद्युत चुम्बकीय शक्ति र अलौकिक ऊर्जाको साम्य विन्दुका साथमा मनुष्य जुन वातावरणमा रहन्छ , त्यसको बनावट र निर्माणको अध्ययन गर्ने शास्त्र हो
वास्तुका श्रेणिहरु :-
भूमि , घर बनाउनको लागि जमीन, भवन , भूमिमा बनाइएको कुनै पनि प्रकारको ढाचा , भूमिमा कुद्ने जुन सुकै प्रकारको वाहन , शयन , भवन भित्र राखिने फर्निचर , घरको सजि-सजावटको सबै तरिका आदि यी सबै श्रेणिहरुले वास्तुका नियमलाई नै दर्शाई रहेका हुन्छन् यस अंतर्गत भूमि जमीनको चयन, जमीनको योजना अनुस्थापन, क्षेत्र र प्रबन्ध रचना, भवनका विभिन्न भागका बीचको अनुपातिक सम्बन्ध र भवनका गुणहरु आउँछन् ।
वास्तु सम्बन्धि तर्क :-
वास्तु शास्त्र, क्षेत्र ( सूक्ष्म ऊर्जा ) को सिद्धान्तमा आधारित शास्त्र हो , जुन चाँहि यस्तो गतिशील तत्व हो जस अन्तर्गत पृथ्वीका सबै प्राणी अस्तित्वमा आउँछन् र त्यहि नै समाप्त पनि हुन्छन् । यस ऊर्जाको प्रवाह प्रकृतिका सबै प्राणिका विशेष चेष्टा र त्यसको समयमा आधारित हुन्छ । वास्तुको मुख्य उद्देश्य प्रकृतिका सानिध्यमा रहेर भवनहरु निर्माण गरि लुप्त उर्जालाई जागृत गर्दै वास्तविक जीवनको आनन्दानुभुति गराउँनु हो । वास्तु विज्ञानमा निपूर्ण कुनै पनि भवन निर्माता , भवनको निर्माण यस प्रकारले गर्दछ जसमा भवन धारक जन्मिएको समयका ग्रह मँडलको उर्जा प्रवाह या कंपनको स्वरुप र भवनमा उर्जा प्रवाहको स्वरुप आँकिक रुपले करिब-करिब बराबर हुन आउँछ
वास्तु पुरुष मंडल :-
वास्तु 'पुरुष मंडल' वास्तु शास्त्रको अभिन्न भाग हो । यसमा घरको बनावट, उत्पत्ति ,गणितीय चित्रका आधारमा गरिन्छ । जसले 'पुरुष' ऊर्जा, आत्मा र ब्रह्मांडीय व्यक्तिको प्रतिनिधित्व गर्दछ । त्यहि 'मंडल' कुनै पनि योजनाका लागि जातिगत नाम हुन्छ । वास्तु 'पुरुष मंडल' वास्तु शास्त्रमा प्रयोग गरिने विशेष मंडल हो , यो कुनै पनि भवन/मन्दिर/भूमिको आध्यात्मिक योजना हो र यसले आकाशीय संरचना र अलौकिक बललाई संचालित गर्दछ ।
दिशा र देवता :-
प्रत्येक दिशा एक विशेष देवता द्वारा संचालित हुन्छ ।
उत्तर पूर्व - यो दिशा भगवान शिव द्वारा संचालित हुन्छ ।
पूर्व - यस दिशामा भगवान सूर्यको निवास हुन्छ ।
दक्षिण पूर्व - यस दिशामा अग्निको निवास हुन्छ ।
दक्षिण - यस दिशामा यमको निवास हुन्छ ।
दक्षिण पश्चिम - यस दिशामा पूर्वजहरुको निवास हुन्छ ।
पश्चिम - यस दिशामा वायु देवताको निवास हुन्छ ।
उत्तर - यस दिशामा धनका अधिष्ठाताको निवास हुन्छ ।
केन्द्र - ब्रह्मको निवास केन्द्रमा हुन्छ 
वास्तु र योग :-
वास्तुशास्त्र योगको सिद्धांत सँग निकै मिल्दो-जुल्दो छ । जसरी कुनै योगीको शरीरबाट प्राण (ऊर्जा) मुक्त रूपले प्रवाहित हुन्छ त्यसैगरि वास्तु गृह पनि यस प्रकारले बनाइएको हुनु पर्छ जसमा ऊर्जाको मुक्त प्रवाह हुन सकोस् वास्तु शास्त्रानुसार एक आदर्श ढाँचा त्यो हुन्छ जुन ढाँचा ऊर्जा प्रवाहमा गतिशील साम्यको प्रतीक हुन सकोस् । यदि उर्जा साम्य भएन भने जीवनमा पनि उचित तालमेल हुन सक्दैन । वास्तुशास्त्रको सिँहावलोकनले यहि कुरालाई दर्शाउँछ कि प्रत्येक भवन चाहे त्यो घर होस् ,गोदाम होस् , फैक्ट्री होस् अथवा कार्यालय होस्, त्यहाँ अविवेकपूर्ण विस्तार तथा फेरबदल आदि हुनुहुदैन ।
मुख्य द्वार:- 
भवनमा 'प्राण' (जीवन-ऊर्जा) को प्रवेशका लागि द्वारको स्थिति र द्वार खोलिने दिशाले वास्तुलाई विशेष गणना द्वारा चुनेको हुन्छ । यसको ठीक चयनले सकारात्मक ऊर्जाको प्रवाह बढाउँन सकिन्छ । घरको अगाडी र पछाडीको द्वार एउटै सीधा लाईनमा हुनु पर्छ , जसका माध्यमले ऊर्जाको प्रवाह बिना कुनै रोकावटले चलि रहोस् । ऊर्जाको यस मार्गलाई 'वम्स दंडम' भनिन्छ , जसलाई मानवीकरण गर्दा मेरुदण्डको संज्ञा दिइन्छ । यसबाट हुने ताथ्यिक लाभ भने घरमा शुद्ध हावाको आवागमन नै हो आत्मिक महत्वको माध्यमले पनि सौर्य ऊर्जाको मुख्य द्वारबाट प्रवेश र पछाडीको द्वारबाट निर्गम हुनाले , घरमा ऊर्जाको प्रवाह बिना रोकावट निरंतर भई रहन्छ ।
घर र वास्तु शास्त्र:-
घर केवल बस्ने ठाउँ मात्र हैन , यो हाम्रो मानसिक पटलको विस्तार र व्यक्तित्वको दर्पण पनि हो । जसरि हामी आफूले चाहे जस्तो तरिकाले घरको बनावटी आकार दिन्छौ , सजावट गर्छौ , र यसको देखभाल गर्छौ , त्यसरि नै यसले पनि हाम्रो स्वभाव, विचार, जैवीक ऊर्जा, निजी र सामाजिक जीवनको पहीचान, व्यावसायिक सफलता आदिको वास्तविकता बोध गराउँछ
ज्योतिष एवँ वास्तुमा स्वस्तिक
जातकको जन्म कुण्डलीमा पनि स्वस्तिक बनाइन्छ नामाँक ज्योतिषमा यस प्रतिकलाई प्रतिष्ठा,मान-सम्मान, वृद्धि, जीवनमा सफलता र उन्नतिको प्रतिक मानिएको छ वास्तु शास्त्रले पनि दोष निवारणका लागि " स्वस्तिक "लाई नै स्विकार गरेको छ जुन घरमा वास्तु दोषको सम्भावना रहन्छ त्यस घरको मुख्य द्वारमा नौ अँगुलको स्वस्तिक बनाउँनाले घरका समस्त वास्तु दोष स्वत: दूर हुन्छन् 
वास्तु दोष निवारणका लागि चमत्कारी उपायहरु:-
१पानी पिउदा आफ्नो मुख उत्तर-पूर्व तर्फ गर्ने 
२ भोजनको थाल दक्षिण-पूर्व तर्फ राखेर पूर्वाभिमुख भई भोजन गर्ने 
३ सुत्दा खेरि दक्षिण-पश्चिम कोणमा दक्षिण तर्फ सिराने गरेर सुत्ने 
४ पूजा गर्दा आफ्नो मुख उत्तर वा पूर्व तर्फ गरेर गर्ने 
५. सम्यक उन्नति हेतु लक्ष्मी , गणेश , कुबेर , स्वस्तिक ,ॐ , मीन आदि माँगलिक चिन्ह मुख्य द्वार माथि स्थापित गर्ने 
६ दक्षिण -पश्चिम दिशामा अधिक द्वार र झ्यालहरु भए बन्दगर्ने वा सँख्या कम गर्ने 
७ भान्सा घर गलत स्थानमा भए अग्निकोणमा एउटा बल्ब लगाउने र त्यसलाई बिहान बेलुकी अवश्य जलाउने क्रमश........
आचार्य कुशल
मस्को

जगत्गुरु र हिन्दु धर्म




विद्या हराए काशी जानु न्याय न पाए गोर्खा जानु भन्ने उक्ति अब वास्तवमा चरितार्थ भएको छ । विश्वमान चित्रमा आध्यात्मिक  क्षेत्रको मूल थलो भनेर चिनिने भारत बर्षको बौद्धिक नगरी , साक्षात् भगवान शंकरको त्रिशुलमा अडिएको ,कल-कल निनादिनी ,पतित पावनी ,भगवती भागीरथिको  पावन तटमा अवस्थित  काशिनगरी र त्यहाका विद्वानहरुलाई  नचिन्ने  कमै होलान् । आज पनि काशीका  विद्वानहरुको आफ्नै  गौरव र  गर्व छ । आद्यगुरु शंकराचार्यले  धर्म व्यतिक्रम नहोस् भनेर  चार 1. बद्रीनाथ  2. द्वारिका   3. जगन्नाथ पुरी  4. रामेश्वरम  धाम र  त्यहाँ  एक-एक शंकराचार्यलाई स्थापना  गराउनु भएको थियो  र त्यो  परम्परा अद्यावधि  कायम नै छ । जसलाई शंकर्याचार्य पीठको नामले पनि चिन्ने गरिन्छ । त्यो पीठ भन्दा तल्लो श्रेणीमा  विभिन्न किल्लाहरू हुने गर्छन्  जसलाई   आध्यात्मिक  भाषामा अखाडा   भन्ने गरिन्छ । अखडाको अर्थ  युद्धको मैदान भन्ने हुन्छ ,शंकराचार्यको अखाडा निर्माणको  तात्पर्य पनि यहि नै थियो कि  कसैले धर्म र धार्मिक क्षेत्र तथा धर्मप्रचारक माथि  अनैतिक हमला गर्छ भने  अखाडा  अगाडी आउने गर्दछ  । त्यसले  सबै अखाडाहरु मिलेर एउटा  अखाडा परिषद निर्माण   गरेका छन्  जसको मान्यता    सरकारले  नै दिएको हुन्छ । भारत वर्षका चार धाममा चार  शंकराचार्यहरु  हुन्छन उनीहरुलाई धर्म रक्षकको  नामले नै चिन्दा अनुपयुक्त  नहोला   । उनीहरुको  दृष्टिमा कुनै  नेपाल आमाको  गिरिकंदरामा  हुर्किएको  विशुद्ध  नेपाली नागरिकले  जगत्गुरुको उपाधि  पाउछ भने त्यो सिङ्गो नेपालको  लागि नै गौरवको कुरा हो ।त्यो  श्रेय पाउनुहुने  नेपालका प्रथम जगत्गुरु  चतरा {प्राचिन हरिद्वार } सुनसरीका  बालसंत मोहनशरण  देवाचार्य  अवश्य नै निकै चोटिला हुनुन्छ । निम्वार्क सम्प्रदायमा  आबद्ध  बालसंतले नेपालमा पहिलो कुम्भ मेलाको  आयोजन गरेर  न केवल  नेपाल अपितु सम्पूर्ण विश्वलाई  नै चकित पारिदिनु भएको  तथ्य  अझै  हामीले बिर्सिएका  छैनौ   ।


    वाल सन्त मोहनशरण देवचार्य महाराज जीलाई भारतीय विशिष्ठ  विद्वानहरुको  विद्वत्परिषद , अखाडा परिषद , तथा  शंकराचार्य मठको  तर्फबाट नेपालकै प्रथम जगतगुरुको उपाधीद्वारा यही मिति २०६७ साल बैशाख १ गते विभूषित  गरेको थियो  । सम्पूर्ण  नेपालीहरु मध्येकै प्रथम जगतगुरुको उपाधी पाउनु भनेको आम नेपाल र नेपालीको सम्मानको रुपमा लिनै पर्छ  । जगतगुरुले नेपालको सुन्सरीमा अवस्थित पिन्डेस्वर धाममा एैतिहसिक  कुम्भ  मेला लगाउनको लागि आग्रणी भूमिका खेली विश्वकै सम्पूर्ण शक्तीपिठहरुको शिर  मानिने पवित्र देवस्थल नेपाल र शान्तिका अग्रणी  मानिने नेपालीको पहिचानमा महत्वपूर्ण सहयोग पुर्‍याउनु भएकोमा समेत वहाँलाई उक्त सम्मान प्रदान गरिएको हो  ।  जगतगुरुको उक्त प्रयासलाई हामी सबै राष्ट्रप्रेमी नेपालीहरुले सहयोग पुर्‍याउनु हामी सबै नेपालीहरुको प्रथम कर्तव्य पनि हो । 

अब  जगत्गुरुको काधमा धेरै ठुलो जिम्मेवारी आएको छ । देश अहिले धर्म व्यतिक्रमको दल-दलमा  फसेको अवश्था छ । धर्म निरपेक्षको  नाममा  हिन्दु धर्ममाथि  ठुलो बज्रपात  भएको छ ,अन्य तथा कथित्  विदेशी संस्थाहरुले  विभिन्न लोभ र प्रलोभन देखाएर  सिधा-साधा नेपाली  सपूतहरुलाई  धर्म परिवर्तन  गराउने धृष्टता  गरिरहेका छन् । धार्मिक कार्यमा  जीवन यापन गर्दै जन-जनमा धार्मिक जागरण  दिलाउदै प्रगतिपथमा  बढीरहनु हुने  जगत्गुरुका लागि धर्म रक्षार्थ , विश्व हिन्दुत्व बोधार्थ  जन चेतना   अभियान चलाउनु  शिवाय अरुकुनै    विकल्प देखिदैन  ।

Tuesday, May 3, 2011

भगवान पर्शुराम जयन्ति विशेष

वैशाखस्य सिते पक्षे तृतीयायां पुनर्वसौ ।
निशायाः प्रथमे यामे रामाख्यः समये हरिः ।।
स्वोच्चगैः षड्ग्रहैर्युक्ते मिथुने राहुसंस्थिते ।
रेणुकायास्तु यो गर्भादवतीर्णों विभुः स्वयम् ।।
भगवान पर्शुराम स्वयं भगवान विष्णुको  अंशावतार थिए । त्यसैले पर्शुरामको  गणना दशावतारमा गरिन्छ ,यिनको जन्म वैशाख शुक्लपक्षको तृतीया तिथि ,पुनर्वशु नक्षत्र रात्रिको पहिलो प्रहरमा  उच्चका छ ग्रहले युक्त मिथुन राशिमा राहु स्थित भएको वेलामा भृगुवंशी महर्षि जमदग्निकी पत्नी  रेणुकाको गर्भबाट भएको थियो । पर्शुराम भगवान शिवका परम् भक्त थिए, उनको वास्तविक नाम राम भए पनि परशु {बन्चरो } धारण गरेको कारणले यिनलाई पर्शुराम भनिन थाल्यो ,त्यो अमोघ शस्त्र उनले भगवान शिवबाट प्राप्त गरेका थिए । 
एक क्रान्तिकारी ब्राह्मण योद्धा - पर्शुरामको परिचय एक क्रान्तिकारी ब्राह्मण योद्धाका रुपमा हुन्छ । यस संग  संबंधित पुराणमा  कथा वर्णित भए अनुसार  पुत्र प्राप्ति हेतु पर्शुरामकी माता तथा विश्वामित्रकी मातालाई प्रसाद  प्राप्त भएको थियो त्यो प्रसाद दैवयोगले एक-आपसमा साटिएको थियो । यसैबाट रेणुका पुत्र पर्शुराम ब्राह्मण हुदाहुदै पनि क्षत्रिय स्वभावका थिए भने  विश्वामित्र क्षत्रिय कुलमा  उत्पन्न भएर पनि  ब्रह्मऋषि भए ।
पितृभक्त -भगवान पर्शुराम भार्गव गोत्रका सबै भन्दा आज्ञाकारी संतानहरुमा प्रमुख थिए । पुराणानुसार  पर्शुरामकि  माता रेणुकाले अज्ञानतावस् कुनै अपराध गरिछन् { पानि लिनजादा चित्ररथ नामक गंदर्भलाई जलमा क्रिडा गर्दै गरेको देखेर केहि क्षण बसेर हेरिछिन र घर आउन ढिलो भएको थियो } । पिता जमदग्नि त्यो अपराध देखि अत्यन्त क्रोधित भएर उनले आफ्ना पुत्रलाई  रेणुकाको शिर काट्ने आज्ञा दिए ।मातृ मोहवश  पुत्रहरु त्यसो गर्न डराए त्यो देखेर जमदग्निले पर्शुरामलाई आज्ञा दिए तिमि  रेणुका सहित सबै तिम्रा भाईहरुको पनि शिर काट । पिताका तपोबल संग परिचित र प्रभावित  पर्शुरामले पिता  आज्ञानुसार माता सहित सबै भाईहरुको पनि वध गरिदिए । पिता जमदग्नि यस  पितृभक्ति देखि  अत्यन्त  प्रसन्न भएर  पर्शुरामलाई वर माग भन्दा पर्शुरामले मेरी माता तथा भाई पुनः जीवित हुने  तथा म द्वारा वध गरिएको स्मृति पनि नरहने अनि आफु पनि निस्पाप हुनेगरिको वर माग्दा  जमदग्निले प्रसन्नचित भएर तथास्तु भनेर आशिर्वाद दिए !
२१ पटक  गरे पृथिवीलाई क्षत्रिय रहित -एक समय पृथिविमा  हैहयवंशीय क्षत्रीय राजाहरुको अत्याचार थियो । त्यसै मध्ये एउटा सहस्त्रार्जुन राजाले यिनका  पिता जमदग्निको  वध गरिदियो त्यो बेला  पर्शुराम तिर्थ यात्रामा गएका थिए  । तिर्थ यात्राबाट फर्किएर आएपछि आफ्ना पिताको  मृत्यु भएको सुनेर तथा माता छाति पिटी-पिटी रोएको देखेर क्रोधित भएर पर्शुरामले यस पृथ्वीलाई क्षत्रिय रहित गर्ने प्रतिज्ञा गरे । पर्शुरामकी माता पति जमदग्निका साथमा नै सती भईन । माता-पिताको  अन्त्येष्ठी  संस्कार पश्चात् पर्शुरामले सहस्त्रार्जुन संग युद्ध गरेर त्यसको वध गरि दिए । त्यस पछाडी  उनले यस  पृथ्वीलाई २१ पटक दुष्ट हैहयवंशीय क्षत्रियदेखि रहित गरिदिए अनि उनीहरुको रगतले समन्तपंचक क्षेत्रका पाँच सरोवर भरिदिए । अन्त्यमा महर्षि ऋचीकले प्रकट भएर पर्शुरामलाई यस्तो घोर कृत्य गर्नबाट रोकिदिए । त्यसपछि   पर्शुराम ब्राह्मणहरुलाई सबै पृथ्वी दान गरेर महेन्द्र पर्वतमा तपस्या गर्न गए । मानिएको छ  अश्वथामा, हनुमान ,वली ,व्यास,कृपाचार्य ,हनुमान र विभिषण जस्तै  भगवान पर्शुराम पनि  अजर - अमर छन् र उनि  कल्पको अन्त्य सम्म यस पृथिवीमा  तपस्यारत रहन्छन्  ।